कञ्चनपुरको मोहना नदी–डोकेबजार सडक खण्डको ठेक्का तोडियो

कञ्चनपुर- हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्डको निर्माण ठेक्का तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी), काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको छ।

सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो। करिब २० किलोमिटर सडकमध्ये हाल ५ किलोमिटर मात्रै कालोपत्रे बाँकी छ र निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ।

Navadurga sun

योजना कार्यालयका अनुसार, पटक–पटक ताकेता गर्दा समेत निर्माण कार्य पूरा नगरेको, प्रतिबद्धताअनुसार काम नगरेको र साइट ठप्प बनाएको कारण ठेक्का तोडिएको हो। ठेक्का सम्झौता रद्द गर्दा निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिने छ।

योजना कार्यालयले गत १४ कात्तिकमा निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो। पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का रद्द गरिएको हो।

कार्यालयका अनुसार, निर्धारित अवधिमा कार्य सम्पन्न नगर्नु, अद्यावधिक कार्यतालिका र स्रोत परिचालनको भरपर्दो योजना प्रस्तुत नगर्नु, तथा कार्य सुचारु गर्नेतर्फ तदारुकता नदेखाउनु ठेक्का उल्लंघन भएको ठहर गरिएको छ।

अहिले बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुल गरिने र कालोसूचीमा राख्न सिफारिस गरिने जानकारी दिइएको छ। निर्माण व्यवसायी कार्यालयमा १५ दिनभित्र उपस्थित नभए कार्यालयबाटै नापजाँच गरिने पनि जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...