एनपीएल : आज विराटनगर र लुम्बिनीबीच ‘डु–वा–डाइ’ भिडन्त, विजेता फाइनलमा

काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तिम चरणमा पुगेको छ। तीन टोलीमध्ये सुदूरपश्चिम रोयल्स पहिले नै फाइनलमा स्थान पक्का गरिसकेको छ। अब फाइनलको अर्को टिकटका लागि आज विराटनगर किङ्स र लुम्बिनी लायन्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।

अपरान्ह ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने क्वालिफायर–२ मा विजेता टोली फाइनल प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। मौसम सफा रहने तर राततिर ड्यु पर्ने सम्भावना उच्च छ, जसले खेलको दोस्रो इनिङमा प्रभाव पार्न सक्छ।

Navadurga sun

विराटनगर : अस्थिर प्रदर्शन, स्पिन बलिङमा भर

विराटनगर किङ्स प्रतियोगिताको सुरुवाती तीन खेल जितेपछि लगातार उतार–चढावबाट गुज्रिएको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि उनीहरू आज दोस्रो अवसरमा खेल्दैछन्।
टिमको मुख्य कमजोरी मिडल अर्डरको कमजोर प्रदर्शन रहेको छ। टप अर्डर—फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिल चले विराटनगर बलियो देखिन्छ, तर यी नचले टिम रन बनाउन संघर्ष गर्ने गरेको छ।

बलिङतर्फ स्पिनर सन्दीप लामिछाने उत्कृष्ट लयमा छन्। ८ खेलमा १५ विकेट सहित उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्। मर्चेन्ट डे लाङले पावरप्लेमा प्रभावकारी साथ दिँदै आएका छन्।

लुम्बिनी : चार खेलको लगातार जित, नेपाली खेलाडीको नेतृत्व

लुम्बिनी लायन्स शान्दार फर्ममा छ। लिग चरणका अन्तिम तीन खेल र इलिमिनेटर मिलाएर टोलीले चार लगातार जित निकालेको छ।
टिममा विदेशी खेलाडी र कम्बिनेसन परिवर्तन गरेपछि प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ।

बल्लिङतर्फ शेर मल्ल १३ विकेटसहित उत्कृष्ट लयमा छन्। रुवेन ट्रम्पलमनले पावरप्लेमै विपक्षीलाई दबाबमा राख्ने गरेका छन्। कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा योगदान दिँदै टिमलाई सन्तुलित बनाएका छन्।
बल्लिङ र ब्याटिङमा डार्सी शर्ट, निरोशन डिक्वेला र सन्दीप जोरा लगातार उपयोगी बनेका छन्।

हेड–टु–हेड बराबरी

विराटनगर र लुम्बिनी अहिलेसम्म २ पटक भिड्दा दुवैले १–१ खेल जितेका छन्।
गत वर्ष विराटनगरले ठूलो स्कोर चेज गर्दै जितेको थियो भने यो संस्करणको भिडन्तमा लुम्बिनीले ५ विकेटले जित हात पारेको थियो।

आजको खेलमा हेर्नुपर्ने मुख्य खेलाडी

विराटनगर: फाफ डुप्लेसी, मार्टिन गप्टिल, साम हिजलेट, बसिर अहमद, सन्दीप लामिछाने
लुम्बिनी: शेर मल्ल, रुबेन ट्रम्पलमन, रोहित पौडेल, डार्सी शर्ट, डिक्वेला

खेल : विराटनगर किङ्स भर्सेस् लुम्बिनी लायन्स (क्‍वालिफायर २)
समय : अपरान्ह ४ बजे (डे/नाइट खेल)
मौसम : सफा, बेलुका डिउको सम्भावना

सम्भावित ११

विराटनगर किङ्स : फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी

लुम्बिनी लायन्स : डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्‍वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी

ADD Khali jpg
ADD Khali jpg
Loading...