

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–५, ६ र ७ का उच्च क्षेत्र चियाखेतीका लागि उपयुक्त हुन सक्ने प्रारम्भिक संकेत देखिएको छ। नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको प्राविधिक टोलीले गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार चियाखेती सम्भाव्यता अध्ययनको प्रारम्भिक चरण पूरा गरेको हो ।


गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरका अनुसार चालु आर्थिक वर्षमा उच्च भूभागलाई लक्षित गरी चियाखेतीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखिएको थियो। सोअनुसार धुलिधार, रडीगाउँ, कलालपसे, जित्की–जुँवाड, मुसे, दाङललगायतका स्थानमा स्थानीय सहभागिता र प्राविधिक अवलोकनका साथ प्रारम्भिक अध्ययन सम्पन्न भएको छ ।



चियाखेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टका अनुसार केही स्थानमा स्थानीयहरूसँग छलफल गरी राय–सुझाव लिइयो भने केही क्षेत्रमा भौगोलिक अवस्था, प्राकृतिक उपयुक्तता र माटोको गुणस्तरको जाँच कार्य अघि बढाइएको छ । चिया विकास बोर्डले संकलन गरेको माटो परीक्षणको प्रतिवेदन केही दिनमा प्राप्त हुने अपेक्षा गरिएको छ ।
पहाडी क्षेत्रमा परम्परागत खेतीपाती घट्दै जमीन बाँझो बस्ने समस्या बढेको अवस्थामा चियाखेती वैकल्पिक कृषि क्षेत्रका रूपमा फस्टाउन सक्ने सम्भावना रहेको बिष्टले बताए ।
गाउँपालिकाले चियाखेतीलाई दीगो कृषि तथा स्थानीय रोजगारीको अवसरका रूपमा अगाडि ल्याउन विभिन्न पक्षसँग निरन्तर छलफल जारी राखेको जनाएको छ ।