सुदूरपहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएनन्




बैतडी,१३ असोज– चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट टे«डिङ्ग कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जनाएको छ ।



ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायब कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिए ।विगतका वर्षमा दशै तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशै तिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।


पहाडी जिल्लामा तत्काल सुपथ मूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री बिक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ ।
पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् ।



