गोदावरीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन, शहर सफाइको उदाहरणीय मोडेल

अत्तरिया- गोदावरी नगरपालिकामा आधुनिक संरचनासहित निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि शहर सफा र व्यवस्थित बन्दै गएको छ । फोहरलाई कुहिने, नकुहिने र सिसाजन्य गरी छुट्याएर व्यवस्थापन गर्ने प्राविधिक प्रणालीसँगै वातावरणीय प्रदूषणमा कमी आएको स्थानीयले बताएका छन् ।

कुहिने फोहोरलाई कम्पोस्ट मल उत्पादनमा उपयोग गरिँदा, नकुहिने तथा पुनः प्रयोग योग्य फोहोरलाई बिक्रीका लागि पृथक संकलन गरिन्छ । केन्द्र स्थापना अघि बजार र सडक छेउ–छाउमा फोहरका थुप्रा र दुर्गन्ध फैलिँदा स्थानीय जीवन प्रभावित भएको थियो । गत साउनदेखि केन्द्र सञ्चालनमा आएपछि यो समस्या क्रमशः अन्त्यतर्फ लागेको नगरवासीहरू बताउँछन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

एसियाली विकास बैंकको ५१ करोड ६९ लाख रुपैयाँको लगानीमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा बनेको केन्द्रले दैनिक १३.६७ टन ठोस फोहोर र १३ घनमिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ । नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, स्थानीय सामुदायिक वन र जिल्ला बन कार्यालयसँगको समन्वयका कारण संरचना निर्माण समयमै सम्पन्न भएको हो ।

केन्द्र अहिले ठेकेदार कम्पनीको व्यवस्थापनमा तीन वर्षसम्म सञ्चालन हुनेछ । यस अवधिमा स्थानीय जनशक्तिलाई तालिम दिएर आगामी दिनमा स्थानीय स्तरबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

इन्जिनियर अशोक पाण्डाका अनुसार, जनप्रतिनिधि, विद्यालय र वडा कार्यालयसँग सहकार्यमा जनचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले घर–घरमै फोहोर छुट्याउने बानी विकास गर्न सहयोग गरेको छ ।

फोहोर व्यवस्थापनसँगै कम्पोस्ट मल उत्पादन र रिसाइकलिङबाट आर्थिक आम्दानी गर्न सकिने भएकाले गोदावरीको यो केन्द्र नगर सफाइ, वातावरण संरक्षण र आर्थिक रूपान्तरणको दृष्टिले उदाहरणीय मोडेलको रूपमा विकसित हुँदै गएको बताइएको छ ।

Loading...