


धनगढी- थारू समुदायको पराम्परागत रूपमा मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाएर सम्पन्न भएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरुको ठुलो कुल मन्दिरको रूपमा रहेको घोरीघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो ।


बिहान ५ बजेदेखि आरम्भ भएको पूजा दिउँसो १२ बजेसम्म चलेको थियो । घोडाघोडीमा बिहानैदेखि बलि दिनेहरूको लाम लागेको थियो । हरेक वर्ष सीता विवाह पञ्चमी तीथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजामा ८३३ वटा पशु बलि चढाइएकोे छ ।


रातभर जाग्राम बसेर सीता विवाहपञ्चमीको बिहान मुख्य गुरुवा ९धामी० ले घोरीघोरा देउथलमा बङ्गुर, बोका र कुखुराको बलि दिइएको छ । मुख्य धामी अथवा पूजारीलाई बेसाहुर गुरुवा भन्ने गरिन्छ । जसले लवाङ्गी पूजाको मुख्य अगुवाइ गर्नुहुन्छ ।

घोरीघोरा लवाङ्गी पूजाको बेसाहुर गुरुवा धर्मराज चौधरी हुनुहुन्छ । उहाँले पहिला पूजा आरम्भ गरेपछि अन्य व्यक्तिहरूको पूजा गर्न पाउने चौधरीले बताउनुभयो । गुरुवा चौधरीले थारूहरूको कुल देवताको ठुलो देउथलको रूपमा घोरीघोरा देउथल रहेको उल्लेख गर्दै परापूर्वकालदेखि सोही मन्दिरमा आफ्ना पूर्खाहरुले लवाङ्गी पूजा गर्दैआएको स्मरण गरे ।
बिगत डेढ दशक यता घोडाघोडीमा लवाङ्गी पूजालाई औपचारिक कार्यक्रमको रूपमा बृहत् बनाउन थालिएको छ । विगतझै यस वर्ष पनि घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सवको रूपमा पूजा धुमधामसाथ सम्पन्न भएको छ ।
लवाङ्गी पूजा समितिका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दै आएको लवाङ्गी पूजालाई यस वर्ष पनि धुमधामका साथ मनाइएको बताए । लवाङ्गी पूजाका दिन ७६ गाउँका भलमन्सा, गुरुवा, चिराकीलगायत थारू अगुवाको सहभागिता रहेको उल्लेख गर्दै छिमेकी पालिका बर्दगोरिया, जोशीपूर, कैलारी गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
घोडाघोडीमा ५१ वटा बोका ३ वटा बङ्गुर र अन्य हाँस, कुखुरा गरी जम्मा ८३३ पशुको बलि दिएर पूजा सम्पन्न भएको अध्यक्ष चौधरीले बताए ।
थारू समुदायले पराम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देउतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको थारू अगुवा तथा अनुसन्धानकर्ता डा रामबहादुर चौधरीले जानकारी दिए । पश्चिम नेपालका थारू समुदायको ठुलो देउस्थलको रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ ।





