गोदावरी नगरपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान औपचारिक रूपमा सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार औपचारिक रूपमा सुरु गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक पुस्कर राज पन्त तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले संयुक्त रूपमा नगरपालिकाको प्राङ्गणमा १६ वटा मैनबत्ती बालेर अभियानको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा प्रहरी निरीक्षक पन्तले मालाखेती क्षेत्रमा दर्ता भइरहेका लैङ्गिक हिंसासम्बन्धी उजुरीको तथ्यांक प्रस्तुत गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनका अनुसार धेरै घटनाहरू जानकारी र पहुँचको अभावमा उजुरीसम्म नपुग्ने भएकाले जनचेतना वृद्धि महत्वपूर्ण छ।

Navadurga sun

कार्यक्रममा उपप्रमुख शारदादेवी रोकायाले महिलामाथि हुने मानसिक, शारीरिक, सामाजिक तथा आर्थिक किसिमका हिंसाको अन्त्यका लागि सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेको बताइन्। उनले परिवार, समाज र संस्थागत संरचनाले समानता, सम्मान र सुरक्षित वातावरण निर्माण गर्न नसकेसम्म महिला हिंसा उन्मूलन चुनौतीपूर्ण हुने उल्लेख गरिन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले यस वर्षको अभियान विद्यालय र समुदाय–केन्द्रित रहने जानकारी दिँदै १६ दिनसम्म विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन हुने बताइन्। उनका अनुसार विद्यालय–स्तरमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, सडक नाटक, खुला संवाद, सार्वजनिक जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारणजस्ता गतिविधि सञ्चालन गरिनेछ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले लैङ्गिक हिंसाका रूप–रूपान्तरण पहिचान गर्दै नगरपालिकाले सामाजिक चेतना, कानुनी ज्ञान अभिवृद्धि तथा सुरक्षा पहुँच विस्तारका लागि दीर्घकालीन योजनाहरू कार्यान्वयनमा ल्याएको जानकारी दिए। उनले लैङ्गिक हिंसामुक्त समाज निर्माणमा नगरपालिकाको संस्थागत प्रतिबद्धता दृढ रहेको प्रष्ट पारे।

कार्यक्रममा विभिन्न संघ–संस्था, महिला समूह, विद्यालयका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानसँगै गोदावरी नगरपालिकामा समेत यो अभियान सक्रिय रूपमा प्रारम्भ गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...