कैलाली- सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले २०८२/०८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रम समेटिएको एकीकृत पुस्तक प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आज आयोगका उपाध्यक्ष डा. जीवन रानासहितको टोलीले मुख्यमन्त्रीलाई पुस्तक औपचारिक रूपमा बुझाएको हो ।



पुस्तक ग्रहण गर्दै मुख्यमन्त्री शाहले यसले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।



उनका अनुसार, पुस्तकले सुशासन प्रवद्र्धन गर्न, सरकारको विकास रणनीति तथा लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन र नागरिकलाई बजेट तथा कार्यक्रमबारे समग्र जानकारी उपलब्ध गराउन मद्दत गर्नेछ । यसले नागरिक–सरकारबीचको विश्वास र उत्तरदायित्वलाई अझ मजबुत बनाउने पनि उनको भनाइ थियो ।
प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष प्रदेश सभाबाट बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशित गर्दै आएको छ ।
तर यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौवटै जिल्लाका जिल्ला समन्वय समिति तथा ८८ वटै स्थानीय तहका निकायगत र जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यक्रम तथा बजेटलाई एकीकृत रूपमा समेटेर संक्षिप्त पुस्तक प्रकाशन गरेको हो । रासस




