माओवादी केन्द्रले दुई लाख ८५ हजार सदस्य निर्वाचित गर्नेछ : श्रेष्ठ

धनगढी, ११ असाेज– नेकपा माओवादी केन्द्रले हालै गठन गरिएको पार्टीको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने दाबी गरेको छ ।

सुदूरपश्चिमको राजधानी धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुने जनाएको छ ।

Navadurga sun

उक्त निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले अहिले देशभरि नै समिति निर्माण र निर्वाचन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको र अब वडादेखि केन्द्रसम्म आन्तरिक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिने उल्लेख गरे ।

‘पार्टी विधानमा भएको व्यवस्था अनुसार करिब दुई हप्ता अघि निर्वाचन आयोग गठन गरेको व्यहोरा यहाँहरुलाई थाहा छँदैछ,’ श्रेष्ठले भने, ‘पार्टीले आयोगलाई पूर्णता दिएपछि पूर्ण बैठक बसेर हामीले कार्य सम्पादन नियमावली, निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता २०७८ पारित गरिसकेका छौं । आसन्न निर्वाचनलाई मध्यनजर गरेर १५ गतेसम्म सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेशस्तरीय निर्वाचन समिति गठन गरिसक्छौं ।’

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ । पार्टीको निर्वाचन सम्पन्न गर्न करिब ४० हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

पार्टी इतिहासमै माओवादी केन्द्रले स्वतन्त्र र स्वायत्त आयोग गठन गरेर पहिलो पटक आन्तरिक निर्वाचन सम्पन्न गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै तहमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको अनिवार्य सहभागिता गराइने व्यवस्था गरिएको जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...