कैलाली- धनगढी-मोहानापुल ६ लेन सडकअन्तर्गत निर्माण भइरहेको दुई महत्वपूर्ण पुलको काम बजेट अभावका कारण सुस्त बनेको छ। त्रिनगर भन्सार नाकास्थित मोहना पुल र गोदावरी नगरपालिका–५ को मनहरा खोलामा निर्माणाधीन पुल दुवैको प्रगतिमा ढिलाइ भएको महाकाली पुल आयोजना कार्यालयका इञ्जिनियर सन्तोष चन्दले जानकारी दिए।




वि.सं. २०७८ माघमा सुरू गरिएको मोहाना पुलको निर्माण कार्य १३ करोड ३६ लाखमा राइमाझी कन्स्ट्रक्सनसँग २०८० जेठसम्म सम्पन्न गर्ने सम्झौता गरिएको थियो। निर्माण कम्पनीको ढिलाइ र पछिल्ला वर्षमा आवश्यक बजेट नआउँदा काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको कार्यालयले जनाएको छ। दुईपटक म्याद थपिएको पुलको हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको छ भने नौ करोड भुक्तानी भइसकेको छ। थपिएको म्याद २०८२ चैत २८ सम्म रहनेछ। चालु आर्थिक वर्षमा सो परियोजनाका लागि डेढ करोड मात्र बजेट विनियोजन भएको छ।


त्यसैगरी, मनहरा खोलाको पुल पनि २०७८ माघमै उच्चाकोटी–शनिदेव–साजेन्द्र JV लाई ठेक्का दिइएको थियो। आठ करोड ५० लाख लागतको सो पुल दुई वर्षमा सक्ने लक्ष्य रहे पनि हालसम्म ५५ प्रतिशत मात्र काम सम्पन्न भएको इञ्जिनियर चन्दको भनाइ छ। पिलर हाल्ने काम सकिएको र माथि स्ल्याब हाल्ने कार्य सुरू भएको उनले बताए। चालु आर्थिक वर्षमा यसका लागि एक करोड बजेट मात्र उपलब्ध भएको छ।
इञ्जिनियर चन्दका अनुसार दुवै पुलमा बजेट व्यवस्थापन भए चालु आर्थिक वर्षमै काम सम्पन्न गर्न सकिने अवस्था छ। यससँगै गोदावरी नगरपालिका–५ को सुनी खोलाको पुल भने तीन करोड ५० लाखमा निर्माण सम्पन्न भई गत असार मसान्तदेखि सञ्चालनमा आइसकेको आयोजना कार्यालयले जनाएको छ।




