धनगढी- गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनबाट ७८ अर्ब ५१ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ। यसअघि निजी क्षेत्रको मात्रै ९० अर्ब बराबर क्षति भएको अनुमान गरिए पनि ताजा सरकारी मूल्याङ्कनले कुल क्षति सोभन्दा कम देखिएको हो।



नेपाल चेम्बरले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका अनुसार सरकारी तथा निजी क्षेत्र दुवै मिलाएर ७८ अर्ब रुपैयाँ बराबर क्षति भएको पाइएको छ। उनका अनुसार क्षति अत्यधिक ठूलो नभए पनि करिब ५५ जिल्लाका १,९५७ इकाइ प्रभावित बनेका छन्।



यस मध्ये ४१९ इकाइ निजी क्षेत्रका हुन् जसको क्षति मूल्य ३६ अर्ब रुपैयाँ बराबर देखिन्छ। बाँकी करीब १,५०० इकाइ सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका संरचना भएका छन्। ती मध्ये ५१४ इकाइ स्थानीय तहमा मात्रै क्षति पुगेको छ।
अर्थमन्त्री खनालले अर्थतन्त्रको वृद्धि, रोजगारी सिर्जना तथा युवालाई देशमै अवसर उपलब्ध गराउन निजी क्षेत्रले दिएको सुझावहरू उपयोगी रहेको बताए। तर ती सुझावहरूको कार्यान्वयन भने सरकारको कानुनी अधिकार र वर्तमान म्यान्डेटको सीमाभित्र मात्र सम्भव हुने उनले स्पष्ट पारे।
उनका अनुसार कतिपय योजनाहरू लागू गर्न कानुनी आधार (ऐन/नियम) आवश्यक पर्ने भएकाले कानुन नबनुञ्जेल तत्काल कार्यान्वयन कठिन हुन सक्नेछ।




