मिटर ब्याजी तथा वित्तीय शोषणविरुद्ध संयुक्त विरोध प्रदर्शन सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- मिटर ब्याजी तथा विभिन्न प्रकारका वित्तीय शोषणविरुद्ध शुक्रबार अत्तरियाको प्रतिभा पुस्तकालयको सभा हलमा आयोजित संयुक्त विरोध प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमलाई वित्तीय शोषण विरुद्ध किसान–मजदुर आन्दोलन, भूमि अधिकार आन्दोलन नेपाल, श्रमिक फोर्स नेपाल, लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति नेपाल लगायतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेका थिए ।

कार्यक्रमको अध्यक्षता शोषणविरुद्ध अभियानका केन्द्रीय सचिवालय सदस्य दामोदर ढकालले गरेका थिए । कार्यक्रममा लघुवित्त पीडितका केन्द्रीय अध्यक्ष मणिराज ज्ञवाली, मजदुर–किसान आन्दोलनका केन्द्रीय अध्यक्ष अवदेश कुसुवा, तथा लघुवित्त वित्तीय शोषण विरुद्ध संघर्ष समितिका केन्द्रीय संरक्षक अगस्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रमेश सेन्चुरी, मणिप्रसाद चौलागाई, मनोज पासवान लगायतका व्यक्तिहरू उपस्थित थिए । “आर्थिक क्रान्तिका लागि एकजुट होऔँ” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य बैंक तथा लघुवित्तबाट पीडित भएका किसान–मजदुर तथा सर्वसाधारणको न्यायका लागि संगठित संघर्ष अघि बढाउनु रहेको आयोजकहरूले बताए ।

Dadeldhura hospital

वक्ताहरूले बैंक तथा लघुवित्तमार्फत भइरहेका अत्यधिक ब्याजदर, गैरकानुनी ऋण असुली, मिटरब्याजी लगायतका शोषणका घटनाले धेरै नागरिकको जीवन संकटमा परेको बताउँदै—पीडितले आत्महत्या गर्नुपर्ने स्थिति सिर्जना भएको, घर–जग्गा खोसिने अवस्थासम्म आएको, तथा मानसिक तनावकै बीच दयनीय जीवन बिताउन बाध्य बनाएको बताएका थिए ।

उनीहरूले विगतमा पनि यस्तो शोषणविरुद्ध आन्दोलन गर्दा सहिदहरू समेत भएको स्मरण गर्दै, “दुई–चारलाई दमन गरेर आन्दोलन रोकिँदैन, अब संयुक्त रूपमा थप सशक्त आन्दोलन गरिनेछ,” भन्ने धारणा प्रस्तुत गरे। विभिन्न क्षेत्रका संस्थाहरू छुट्टाछुट्टै रूपमा आन्दोलनमा रहे पनि अब सबै संस्था एकै ठाउँमा आएर संयुक्त रूपमा वित्तीय शोषणविरुद्ध लड्न आवश्यक रहेको पनि वक्ताहरूले जोड दिए ।

कार्यक्रमका सहभागीहरूले आगामी दिनमा सडकदेखि सदनसम्म आवाज उठाउँदै, मिटर ब्याजी तथा बैंक–लघुवित्त शोषण अन्त्यका लागि निरन्तर सशक्त संघर्ष अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा लघुवित्त पीडितका सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन लघुवित्त पीडितविरुद्ध केन्द्रीय अभियानका कार्यालय सदस्य हेमराज दाहालले गरेका थिए ।

Loading...