कृष्णपुरमा स्वच्छ ऊर्जा प्रवद्र्धन कार्यक्रम सुरु

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC), नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार, यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्दै दिगो विकास, वातावरणीय प्रदूषण नियन्त्रण र वन विनाश न्यूनीकरणमा योगदान पुर्याउनु हो ।

Navadurga sun
Godawari sandesh

“स्वच्छ ऊर्जा प्रयोग बढे वातावरण र स्वास्थ्यमा सुधार आउँछ, दाउरा र पेट्रोलियम पदार्थको निर्भरता घट्छ,” उनले बताए, “यही कारणले कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।”

कार्यक्रमअन्तर्गत प्रत्येक प्रविधिमा लागत साझेदारीको स्पष्ट संरचना तय गरिएको छ । विद्युतीय चुल्होमा हरित जलवायु कोषले कुल लागतको १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १९ प्रतिशत र उपभोक्ताले बाँकी २३ प्रतिशत व्यहोर्ने व्यवस्था गरिएको छ ।

Dadeldhura hospital

सुधारिएको चुल्होका लागि हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४०–४० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले पाँच प्रतिशत लागत साझेदारी गर्नेछन् ।
त्यसैगरी घरायसी बायोग्यास प्लान्ट निर्माणमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत खर्च व्यहोर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले स्थानीय बासिन्दालाई वडा कार्यालयमार्फत आवेदन दिन आह्वान गरेको छ । आवेदनका लागि नागरिकताको प्रतिलिपि, माग सङ्कलन फाराम र लक्षित वर्ग (अपाङ्गता, एकल महिला, मुक्त कमैया, कमलहरी आदि) को प्रमाणपत्र आवश्यक हुनेछ । माग र आवश्यकताका आधारमा स्वच्छ ऊर्जाका साधन अनुदानमा उपलब्ध गराइनेछ ।

नगर प्रमुख हेमराज ओझाले वैकल्पिक ऊर्जाको प्रयोगले वन संरक्षण, वायु प्रदूषण घटाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पु¥याउने भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, सुधारिएको चुल्हो र बायोग्यासले दाउरा खपत घटाउने, धुवाँ–धुलो कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउनेछ ।

विद्युतीय चुल्हो प्रयोगले एलपिजी ग्यासको आयात घटाउन र घरेलु विद्युतीय ऊर्जाको प्रयोग बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ, जसले राष्ट्रिय ऊर्जा आत्मनिर्भरता नीतिलाई टेवा पुर्‍याउनेछ ।

नगरपालिकाले यो कार्यक्रमलाई वातावरणमैत्री र सामाजिक रूपान्तरणको मोडेलका रूपमा अघि बढाउने तयारी गरेको छ । “कार्यक्रममार्फत दिगो ऊर्जा, हरित वातावरण र स्वच्छ जीवनशैलीतर्फ अघि बढ्दैछौँ,” नगर प्रमुख ओझाले भने, “यो अभियानले वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक बोझ घटाउनेछ । रासस

Loading...