


धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक हप्ताको अवधिमा कैलालीमा चार हजार ४ सय दशमलव ३९ क्विन्टल धान खरिद गरेको छ । यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो ।


धनगढी उपमहानगरपालिकाको मोहनपुर, गौरीगङ्गा, टीकापुर, सत्ती, भजनी र जोशीपुरबाट धान खरिद भइरहेको जनाएको छ । छ वटै ठाउँमा धान बिक्री गर्ने किसानको भीडभाड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले बताए ।


उनले बेलुकासम्म धान खरिदको काम भइरहेको जानकारी दिए । खाद्यले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा (मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँमा) धान खरिद गरिरहेको छ ।
नेपाल सरकारले गत साउनमै धानको समर्थन मूल्य निर्धारण गरेको थियो । तर निजी गल्ला व्यापारीले समर्थन मूल्यभन्दा झन्डै एक हजार रुपियाँ कममा किसानको धान खरिद गर्दा धेरै किसानले सस्तोमै धान बिक्री गरिसकेका छन् ।

खाद्यले धान खरिद गर्न ढिलाइ गरेपछि काम चलाउनका लागि उनीहरूले अघि नै धान बेचेका हुन । सरकारले यसवर्ष सुदूरपश्चिम प्रदेशमा धान खरिद कोटा ३५ हजार क्विन्टलमात्रै निर्धारण गरेको छ ।
गतवर्ष सरकारले यस प्रदेशका लागि ५५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेको थियो । तर खाद्यले ३४ हजार ५०१ दशमलव ८४ क्विन्टल धानमात्र खरिद गर्न सकेको थियो ।
केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले किसानको धान बढीभन्दा बढी खरिदका लागि धान खरिद कोटा बढाएर कम्तीमा तीन लाख क्विन्टल पुर्याउन अनुरोध गर्ने निर्णय गरेको थियो ।
सो निर्णयसहितको पत्र लेखेर केन्द्रीय कार्यालयमा पठाएको प्रमुख थापाले जानकारी दिए । उनले अहिले प्रथम चरणको कोटाअनुसार धान खरिद भइरहेको जनाउँदै केन्द्रीय कार्यालयले कोटा थप गरेमा थप धान खरिद गर्ने बताए।
“अहिलेलाई हामी हाम्रो बजेट र कोटानुसार मात्रै धान खरिद गर्दैछौँ”, प्रमुख थापाले भने ।” खाद्यले स्थानीय तहले सिफारिस गरेको आधारमा एक किसानबाट बढीमा ५० क्वीन्टल सम्ममात्रै धान खरिद गरिरहेको छ । किसान सूचीकृत फाराम भरेर धान खरिद गर्ने कार्य भइरहेको जनाइएको छ । किसानलाई भुक्तानी बैङ्कमार्फत हुने थापाको भनाइ छ ।





