धनगढी- सुदूरपश्चिम इभेन्ट एशोसिएसनले बिना दर्ता र अनुमति सञ्चालन भइरहेका टेन्ट र डिजे व्यवसायीमाथि कारबाही गर्न आग्रह गरेको छ।


एशोसिएसनले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी रूपमा चलेका क्याटरिङ, टेन्ट र डिजे व्यवसायका कारण सामाजिक विग्रह बढेको भन्दै निगरानी र कारबाहीको माग गरेको हो।

कृष्णपुर टेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल आर्याले सामुदायिक वन, आमा समूह, टोल समूहहरूले समेत गैरकानुनी रूपमा टेन्ट र डिजे सञ्चालन गर्न थालेको बताए। गौरीगंगा टेन्ट व्यवसायी संघका अध्यक्ष कलिराम चौधरीले दर्ता नभई राज्यलाई कर नतिरी व्यवसाय गर्नेहरूलाई रोक्नुपर्ने माग गरे।
एशोसिएसनका सल्लाहकार विनोद मल्लले सरकारी अनुदानबाट टेन्ट र डिजे खरिद गरी व्यवसाय गर्नु गलत भएको बताए भने महासचिव मुकेश रानाले कानुन सबैका लागि समान हुनुपर्ने बताए। वैधानिक रूपमा दर्ता भएका व्यवसायीहरूलाई मर्का पर्ने भएकाले प्रशासनले तत्काल कदम चाल्न एशोसिएसनले आग्रह गरेको छ।
