कञ्चनपुर- कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ का किसान टेकबहादुर खड्काले तीन वर्षअघि व्यावसायिक रूपमा भटमास खेती सुरु गरेका हुन्। सुरुमा पाँच कठ्ठामा खेती गरे पनि राम्रो आम्दानी भएपछि अहिले उनले डेढ विघा जमिनमा भटमास खेती विस्तार गरेका छन् ।

उनका अनुसार भटमास खेतीमा थोरै लगानी र परिश्रममा वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ। धान र गहुँ खेतीमा लागत बढी र मूल्य कम हुने भएकाले अहिले यहाँका किसानहरू भटमास खेतीतर्फ आकर्षित भएका छन्।


दोधारा–चाँदनी–९ का किसान जगत बुढाले पनि भटमास खेतीबाट राम्रो आम्दानी भएको बताए। उनले गत वर्ष ८५ रुपैयाँ प्रतिकिलो भटमास बिक्री गरी झन्डै तीन लाख रुपैयाँ आम्दानी गरेको बताए। उनका अनुसार भटमासको बिक्रीका लागि समस्या छैन, व्यापारीहरू घरमै आएर कुखुराको दाना बनाउन भटमास खरिद गर्छन्।
नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टका अनुसार दोधारा–चाँदनीमा ३६०० हेक्टर खेतीयोग्य जमिनमध्ये हाल १०० हेक्टरमा भटमास खेती हुँदै आएको छ। यहाँको दोमट माटो भटमासका लागि उपयुक्त भएकाले उत्पादन राम्रो हुने र किसानको चासो बढ्दै गएको उनले बताए।
गत वर्ष प्रदेश सरकारले २५ हेक्टरका लागि मात्र अनुदान उपलब्ध गराए पनि माग बढी भएपछि ५८ हेक्टरमा अनुदान वितरण गरिएको भट्टले जानकारी दिए। नगरपालिकाले भटमास खेती बढ्दै गएपछि आगामी वर्ष किसान लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छ।
