कञ्चनपुर- जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गरेको दशौं जिल्ला सभामा वेदकोट नगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गरेको छ ।

स्थानीय तह क्षमता स्वमूल्यांकन (LISA) तथा स्थानीय तह वित्तीय जोखिम मूल्यांकन (FRA)काे गुणस्तर परीक्षणमा वेदकोट नगरपालिकाले जिल्लाभरका सबै पालिकामध्ये प्रथम स्थान प्राप्त गरेको हो ।


कार्यक्रममा नगर प्रमुख भोजराज बोहराले आफ्नो विचार राख्दै स्थानीय शासन सुदृढीकरण, पारदर्शिता र जनउत्तरदायित्वका क्षेत्रमा नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त उपलब्धिको सम्मानस्वरूप जिल्ला समन्वय समितिले वेदकोट नगरपालिकालाई सम्मानपत्र प्रदान गरी अभिनन्दन गरेको छ । सम्मानपत्र जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले नगर प्रमुख भोजराज बोहरा र उप–प्रमुखले संयुक्त रूपमा ग्रहण गर्नुभयो ।
वित्तीय व्यवस्थापनमा पनि आदर्श सावित भएको वेदकोट नगरपालिका ०.४८ प्रतिशत बेरुजुसहित जिल्लाको सबैभन्दा कम बेरुजु भएको घोषणा गरिएको छ ।
उत्कृष्ट प्रदर्शनका लागि प्रमुख बोहराले नगरका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा नागरिकप्रति आभार व्यक्त गर्दै अझ राम्रो शासन र विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
