आगजनीपछि खण्डहर बनेको सुदूरपश्चिम प्रदेश सभा मर्मतमा, बैठक अनिश्चित

धनगढी- जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि खण्डहर बनेको सुदूरपश्चिम प्रदेश सभा हाल मर्मत–संभारको तयारीमा छ। सचिवालयका प्रशासनिक काम पुनः सञ्चालनमा आए पनि प्रदेश सभा बैठक भने अनिश्चित बनेको छ।

सचिवालयका अनुसार आन्दोलनकै कारण स्थगित भएको चालु अधिवेशन अहिलेसम्म अन्त्य भएको छैन। तर, बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार ध्वस्त भएकाले बैठक आह्वानको तयारी समेत गरिएको छैन।

Navadurga sun

सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रमुख सचिव, आर्थिक सचिवलगायत सबै मन्त्रालयका सचिव र प्रदेश सभाका सचिवबीच बैठक सञ्चालनबारे छलफल भइसकेको छ। “सहरी विकास कार्यालयलाई मर्मत–संभारको अनुमान तयार गर्न पत्राचार गरेका छौं,” उनले भने, “हाल प्राथमिकता बैठक सञ्चालनका लागि हल निर्माणमा छ।”

बैठक स्थगित भएपछि टीकापुर प्राविधिक विश्वविद्यालय, बढघर भल्मन्सा र वन ऐन संशोधनसम्बन्धी तीन विधेयकको प्रक्रिया पनि रोकिएको छ। सभामुख र मुख्यमन्त्री जिल्लाबाहिर रहेकाले बैठक आह्वानबारे राजनीतिक छलफल हुन नसकेको सचिवालयले जनाएको छ।

आन्दोलनका क्रममा प्रदेश सभा भवन, समितिका कक्ष र सचिवालयका शाखाहरूमा आगलागी हुँदा करिब सात करोड रुपैयाँ बराबरको जिन्सी क्षति भएको छ। पाँच मोटरसाइकल र सात गाडी जलेका छन्। हाल सचिवालयका कर्मचारीहरू अस्थायी रूपमा एउटै कक्षमा बसेर काम गर्दै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...