


धनगढी- वीरताको प्रतीक मानिने थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ । राज्यस्तरबाट संरक्षणको प्रयास नहुँदा थारू समुदायको यो मौलिक सांस्कृतिक नृत्य अस्तित्व संकटमा परेको स्थानीय अगुवाहरूले बताएका छन् ।


विगतमा दसैँ र दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले मात्र देख्न पाइने भएको छ । मुङ्ग्रो र मयूरपंखको प्रयोग गरी देखाइने यो नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा जोखिममा परेको हो ।



कैलारी गाउँपालिका–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीका अनुसार राज्यले संरक्षणका लागि चासो नदेखाएकाले यो मौलिक नाच लोप हुने चिन्ता बढेको छ । “हामीले आफ्नै प्रयासमा परम्परा जोगाइरहेका छौँ, तर सरकारी चासो नहुँदा निराशा छ,” चौधरीले बताउनुभयो ।
चौधरीसहितको टोलिले २०४२ सालदेखि यो नाच देखाउँदै आएको भए पनि पछिल्लो समय सहभागिता घट्दै गएको छ । नाचमा पुरुष र महिला दुवै सहभागी हुने परम्परा छ । विगतमा महिलाको भूमिका पनि पुरुषले निर्वाह गर्ने गरेकामा अहिले महिलाहरू स्वयं सहभागी हुने गरेका छन् ।
स्थानीयका अनुसार मुङ्ग्रहवा नाच महाभारतको कथासँग सम्बन्धित छ । किंवदन्तीअनुसार पाण्डवका भीमले किचक र दुर्योधनलाई गदाले प्रहार गरी मारेका घटनाको प्रतीकस्वरूप यो नाच प्रदर्शन गरिने गरिएको हो ।
थारू समुदायको वीरता र पौरख झल्काउने यो सांस्कृतिक नृत्य संरक्षणका लागि राज्य र समुदाय दुवै सक्रिय हुनुपर्ने स्थानीय कुलराज चौधरीले बताएका छन् ।





