विद्यालय पर्खालको अभावमा उच्च जोखिममा

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ वैशाखास्थित श्रीराम आधारभूत विद्यालय पर्खालको अभावमा उच्च जोखिममा रहेकोे छ ।

विद्यालय तीन तर्फबाट प्राकृतिक नालाले घेरिएको छ। वर्षाका बेला नालामा पानी भरिँदा पूरै विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विखलु चौधरीका अनुसार नालातर्फ पर्खाल र तटबन्ध नबन्दा विद्यार्थी नालामा खसेर दुर्घटनामा पर्ने जोखिम अत्यधिक छ ।

Navadurga sun

‘शिक्षकको सतर्कताले अहिलेसम्म जोगाइरहेका छौँ, तर कुन दिन दुर्घटना हुन्छ, भन्ने निश्चित छैन,’ उनले भने, ‘बर्सादमा नाला भरिँदा विद्यालय परिसर नै जलमग्न हुने गर्छ, त्यतिबेला पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिनुपर्ने बाध्यता हुन्छ ।’ नालाको कटानका कारण विद्यालयका भवनसमेत धसिँदै गएको र जीर्ण संरचनामै पढाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

विद्यालयमा रहेको हेण्डपम्पबाट आइरन र आर्सेनिकयुक्त पानी आउने गरेको छ । गहिरो ह्याण्डपम्प जडान गर्न आर्थिक अभावले नसकिएको अध्यक्ष चौधरीको भनाइ छ । ‘वडा कार्यालय र नगरपालिकामा पटक–पटक माग राख्दा पनि सुनुवाइ हुन सकेको छैन,’ उनले भने।

विद्यालयमा हाल करिब १०० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी मुक्त कमैया,मुक्त हलिया र शुक्लाफाँटा आरक्ष पीडित परिवारका हुन् । विपन्नता र जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्न जाने बाध्यता भएकाले अभिभावकले विद्यालय पूर्वाधार निर्माणमा आर्थिक योगदान दिनसक्ने अवस्था छैन

हाल विद्यालयमा दुई शिक्षक, दुई बालविकास सहजकर्ता र एक परिचर कार्यरत छन् । कक्षा ३ सम्म मात्र पढाइ हुने यो विद्यालयलाई स्तरोन्नति गर्ने प्रयास भइरहेको समितिले जनाएको छ।

स्थानीय सरोकारवाला निकायमा पटक–पटक माग पुर्‍याउँदा पनि सुनुवाइ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको जीवनरक्षा र पठनपाठन सहज बनाउन नालातर्फ पर्खाल तथा तटबन्ध तत्काल निर्माण गर्न आग्रह गरेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...