कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको अपिल : एकजुट भइ पुनर्निर्माणमा जुट्न आग्रह

धनगढी-  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा घटेका घटनाबाट सिर्जित मुलुकको वर्तमान अवस्थालाई संवेदनशील ठहर गर्दै सबैलाई एकजुट भइ पुनर्निर्माणमा लाग्न अपिल गरेको छ।

सोमवार दलका नेता एवम् सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले देश संकटको घडीमा सामूहिक सहकार्य र जिम्मेवार भूमिकाको आवश्यकता औंल्याउँदै शान्ति, स्थायित्व र विकासतर्फ अघि बढ्न सबै पक्षलाई आग्रह गरेको हो।

Navadurga sun

बैठकले जेनजी आन्दोलनमार्फत युवाले अघि सारेका भ्रष्टाचारमुक्त समाज निर्माण, दोषीलाई कारबाही, सुशासन र जवाफदेहिताजस्ता उचित मागहरूको सम्बोधन गर्न संघीय र प्रदेश सरकारलाई तत्काल पहल गर्न सुझाव दिएको छ।

त्यसैगरी दलले हालै पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेतृ एवम् निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको कडा निन्दा गर्दै उक्त घटनामा लोकतन्त्र विरोधी र संविधान विरोधी तत्वहरूको संलग्नता रहेको ठहर गरेको छ। कांग्रेसले आक्रमणमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै दुवै नेताको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, आगजनी, लुटपाट र सम्पत्तिको तोडफोडबारे बैठकले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानुनअनुसार कडाभन्दा कडा सजाय दिन सरकारसँग आग्रह गरेको छ।

संसदीय दलले आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवा, नागरिक र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...