डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर, माग पूरा नभएसम्म आन्दोलन जारी

अत्तरिया- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २३औँ सत्याग्रह तेस्रो दिनमा पुगेसँगै स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको मंगलबार बिहान गरिएको परीक्षणमा उनको ग्लुकोजको मात्रा ३७ मात्र रहेको चिकित्सकहरूले जनाएका छन्। यो स्तर अत्यन्तै खतरनाक भएको र ७० भन्दा तल पुगेमा जुनसुकै बेला बेहोस हुने जोखिम रहने भन्दै उनको स्वास्थ्यबारे विशेष निगरानी गरिएको छ।

डा. केसीले नर्मल स्लाइन बाहेक अन्य औषधि लिन अस्वीकार गरेका छन्। उनका सहयोगी डा. अमृत जैशीका अनुसार मंगलबार बिहान ६ बजेको रिपोर्टले नै उनी जोखिमपूर्ण अवस्थामा पुगेको देखाएको हो।

Navadurga sun

तेइसौँ सत्याग्रहमा बसेका डा. केसीले यसपटक सरकार र चिकित्सा शिक्षा आयोगलाई लक्षित गर्दै विभिन्न माग अघि सारेका छन्। उनका प्रमुख मागहरूमा निजी मेडिकल कलेजमा विद्यार्थी सिट संख्या बढाउने निर्णय तत्काल फिर्ता लिनु, शुल्क वृद्धि नगर्नु, सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नु, तथा गेटास्थित मेडिकल विश्वविद्यालयमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम पूर्ण क्षमतामा सञ्चालन गर्नु पर्छ भन्ने छन्।

यसबाहेक उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित गर्न, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिमा मापदण्ड लागू गर्न, मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन, सरकारी अस्पताललगायत स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न र विगतमा भएका सबै सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्।

मेडिकल शिक्षा सुधारका मागसँगै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय पनि उठाएका छन्। भारतले लिपुलेक क्षेत्रमा गरेको अतिक्रमण तत्काल अन्त्य गरी नेपालको भूमि फिर्ता गर्नुपर्ने र त्यसको सुनिश्चितता नेपाल सरकारले गर्नुपर्ने उनको माग छ। साथै, युक्रेन र गाजामा भइरहेको युद्ध तुरुन्त रोक्न रूस र इजरायललाई समेत उनले आह्वान गरेका छन्।

डा. केसीको सत्याग्रह मंगलबार तेस्रो दिनमा प्रवेश गरेको छ। मंगलबार अपराह्नतिर सत्याग्रह अन्त्य गर्ने तयारी भएको बताइए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको जीवनरक्षासम्बन्धी चासो बढेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...