


अत्तरिया- अखिल नेपाल ट्रेड युनियन महासङ्घ (ए.एन.टी.यु.एफ) सुदूरपश्चिम प्रदेश कमिटीको छैठौं पूर्ण बैठक अत्तरियास्थित प्रतिभा पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ ।


बैठकमा सुदूरपश्चिम प्रदेश कमिटीका यथेष्ट सदस्यहरू सहित विभिन्न तहका मजदुर संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



कार्यक्रममा बोल्ने वक्ताहरूले मजदुरहरूको हकहितका लागि सबै मजदुरहरू पार्टीसँग मिलेर संगठित रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनीहरूले मजदुरहरूको समस्या भनेको जनताको समस्या नै भएकोले यसको निराकरणका लागि आन्दोलन अपरिहार्य रहेको बताए ।
वक्ताहरूले हाल नेपालमा मजदुरहरूको अवस्था नाजुक रहेको, दिनभरि काम गर्दा पनि उचित पारिश्रमिक नपाउने, रोजगारका अवसर सीमित हुने, अझै पनि महिला र पुरुषको ज्यालामा असमानता रहने जस्ता समस्या विद्यमान रहेको औंल्याए । मजदुरहरूले साँझ एक छाक खानदेखि छोराछोरीको पढाइ खर्च र स्वास्थ्य खर्चसम्म धान्न कठिनाइ भइरहेको परिस्थितिमा राज्य र सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिइयो ।
कार्यक्रममा पार्टी सरकारमा पुगे पनि मजदुर र आम जनताको समस्यामा ठोस समाधान नआएको भन्दै अब गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी सुनिश्चित गर्न आन्दोलन अपरिहार्य भएको निष्कर्ष निकालियो।
वक्ताहरूले अखिल नेपाल ट्रेड युनियन महासङ्घलाई मजदुरहरूको सच्चा संगठनको रूपमा प्रस्तुत गर्दै यसमा देशभरिका मजदुरहरू क्रमशः आबद्ध हुँदै गइरहेको बताएका थिए ।





