

कञ्चनपुर- कञ्चनपुरमा एक महिला मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन ।


सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।



सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।
पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए । शनिबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा घरायसी झगडाको उजुरीपछि प्रहरीले सम्झाई बुझाइ गरी घर फर्काएको थियो ।
सम्झनाका बुवा भट्टले छोरीमाथि पटक पटक मानसिक तनाव तथा शारिरीक यातना दिने गरेको बताए । छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर उहाँले कारबाहीको माग गरे । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।





