

धनगढी- कैलालीको जानकी गाउँपालिका–४ स्थित जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शंकास्पद मृत्यु भएको छ। पन्त धनगढी उपमहानगरपालिका–तारानगरका स्थायी बासिन्दा हुन् ।



इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार शनिबार राति टीकापुरस्थित लोकल स्टेशन होटलमा खाजा खाइरहेका बेला पन्त एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल टीकापुर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पन्तसँगै खाजा खाइरहेका तीन जनालाई नियन्त्रणमा लिइएको डीएसपी बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूको परिचय हाल सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीहरूले सेवन गरेका पेयपदार्थमा विषादी मिसिएको आशंका गरिएको छ । विस्तृत अनुसन्धान भइरहेको छ ।





