गौरीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, कर्मचारी आन्दोलित

कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार दिउँसो भएको उक्त घटनापछि नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्।

कुटपिटको आरोप नगर प्रमुख देविदत्त कडेलका सहयोगी उमेश जोशीमाथि लागेको छ। नगरपालिकाका एक कर्मचारीका अनुसार केही समयदेखि मेयर कडेल र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यशैलीका विषयमा विवाद रहँदै आएको थियो।

Navadurga sun

“हाकिम साप एकलौटी निर्णय गर्दै आउनुभएको थियो,” एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए, “बिहीबार मेयर सापले कर्मचारी सरुवा र तह मिलानसम्बन्धी छलफलका लागि दुई पटक बोलाउँदा पनि नआएपछि सहयोगी उमेश जोशी जानुभएको थियो। त्यही क्रममा हातपातको अवस्था सिर्जना भयो।”

कुटपिटपछि प्रमुख प्रशासकीय अधिकृत जोशी कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई भेट्न धनगढी पुगेका छन्। “अहिले सिडिओ सँग छलफल भइरहेको छ, पछि घटनाबारे कुरा गरौंला,” जोशीले सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिएका छन्।

अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द
घटनापछि गौरीगंगा नगरपालिका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कुटपिटको विरोध गरेका छन्।

“कार्यकक्षभित्रै भएको यस्तो अमानवीय व्यवहार निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ, “यो घटनाले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको छ।”

कर्मचारीहरूले दोषीमाथि तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन नहुन्जेलसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवा स्थगित गरिएको जानकारी गराइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...