

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ पृथ्वीनगर टोल अत्तरियामा रहेको शिव मन्दिर परिसरमा वृक्षारोपणसँगै सयपत्री फूलका विरुवा रोप्ने अभियान सुरु गरिएको छ ।


नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चितवनबाट ल्याइएका उन्नत जातका पाँच हजारभन्दा बढी सयपत्री फूलका बिरुवा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै रोपण कार्य सुरु गरिएको हो ।



यही अवसरमा अत्तरिया–धनगढी ६ लेन सडक खण्डको गोदावरी नगरपालिकाभित्र पर्ने मिडियन क्षेत्रमा समेत सयपत्रीका हजारौं बिरुवा रोपिएको छ । नगर प्रमुख भट्ट, कर्मचारी र कामदार टोलीले संयुक्त रूपमा फूल रोपण कार्य सम्पन्न गरेका हुन् ।
उनले दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य सजावटी सामग्रीको सट्टा स्वदेशमै उत्पादित प्राकृतिक फूलको प्रयोगमा जोड दिने नगरको प्राथमिकता रहेको बताए ।
नेपाली कांग्रेसका युवा नेता हरी भट्टराईले चितवनबाट गुणस्तरीय र सस्तो फूलका बिरुवा ल्याइएको जानकारी दिँदै मठमन्दिर वरिपरि र फोक्सेडाँडालगायत स्थानमा पनि फूल रोप्ने योजना रहेको बताए ।
उक्त अभियानले धार्मिक पर्यटनको प्रवद्र्धन, वातावरणीय संरक्षण र नगरको सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।





