गोदावरीमा लागूऔषध न्यूनीकरणसम्बन्धी सातदिने सचेतना कार्यक्रम सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिकाको सहयोगमा अत्तरिया सञ्चार संघद्वारा आयोजित लागूऔषध दुव्र्यसनी न्यूनिकरणसम्बन्धी सात दिने सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नगर क्षेत्रका विभिन्न ६ वटा विद्यालयमा सञ्चालन गरिएको यो कार्यक्रम वडा नं. ३ स्थित नवज्योती माविमा समापन गरिएको हो ।

समापन कार्यक्रम अत्तरिया सञ्चार संघका महासचिव ध्रुव ओझाको सभापतित्वमा सम्पन्न भयो भने गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।

bhagawat sav house

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रोकायाले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि केवल पक्राउ र कारबाहीमा सीमित नभई विद्यालय स्तरमै सचेतनामूलक कार्यक्रम अनिवार्य रहेको धारणा राखिन् । “लागूऔषध विरुद्धको लडाइँ जनचेतनाबाट सुरु हुन्छ,” उनले भनिन्, “यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्छन् ।”

Dadeldhura hospital

कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले किशोर-किशोरीहरू साना भूलले लागूऔषधको गर्तमा पर्न सक्ने भएकाले विद्यालय तहबाटै सचेतना आवश्यक भएको बताए । उनले भने, “आजको युवा पुस्ता बर्बाद नहोस् भन्न चाहने हो भने लागूऔषधबारे गहिरो जानकारी दिनैपर्छ ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र नागरी, विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्ट, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सातदिने कार्यक्रम अवधिभर मुख्य प्रशिक्षकको रूपमा प्रहरी निरीक्षक ईन्द्रराज भट्ट र सहायक प्रशिक्षकको रूपमा गोपाल जोशीले प्रशिक्षण दिएका थिए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई सभाध्यक्ष ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

Loading...