धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सोमवार परेको २१२.२ मिलिमिटर वर्षाले विभिन्न क्षेत्रहरू डुबानमा परेपछि नगर प्रहरीले व्यापक उद्दार तथा राहत कार्य सञ्चालन गरेको छ ।




नगरप्रहरीले दिनभर डुबानमा फसेका नागरिकको उद्दार, घरभित्र पसेको पानी मोटरमार्फत निकाल्ने, सडक र नालीको अवरोध हटाउने कार्यमा सक्रियता देखाएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीका अनुसार, हसनपुरबाट बोट प्रयोग गरी ६ जना र वडा नं. ८ बाट एक वृद्धा गरी सात जनाको उद्दार गरिएको हो ।





डुबानको पानी निकास गर्न उपमहानगरपालिकाले आफ्ना ७ र थप ४ वटा भाडाका जेसीबी प्रयोग गरेर काम गरेको छ । उद्दार र अन्य आवश्यक कार्यका लागि १० वटा गाडी तयारी अवस्थामा राखिएको थियो भने नगर प्रहरी ५ वटा गाडी र १० वटा मोटरसाइकल मार्फत प्रभावित क्षेत्रमा खटिएको थियो ।


नगर प्रहरीले ११ वटा टोली बनाएर विभिन्न वडामा खटिएको थियो । उनीहरूले डुबानको जोखिम मूल्याङ्कन, सूचना संकलन तथा नाली सफाइजस्ता कार्यमा पनि सहभागीता जनाएका थिए ।
उपमहानगरपालिका–१ को चौलानी स्टोर, शीतल डेरी, ऐश्वर्य विद्यालय र एलएन चोक आसपासको सडकमा सब्बल र घैंटीको प्रयोग गरी पानी नालीमा निकास गरिएको थियो । साथै, दुई वटा मोटरको सहायताले ५ वटा घरमा जमेको पानी बाहिर निकालिएको थियो ।
डुबान प्रभावित वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४ र १८ गरी ३० भन्दा बढी स्थानमा नगर प्रहरीले पानी निकास गरेको छ । वडा नं. ८ का दुई घरको सामान पनि नगर प्रहरीले सुरक्षित स्थानमा सारेको जानकारी उपमहानगरपालिकाले दिएको छ ।
‘हर घडी, नगर प्रहरी’ नाराका साथ नगर प्रहरीले २४ घण्टा तयारी अवस्थामा काम गरिरहेको र समस्या परेमा ०९१–५९०६९० मा सम्पर्क गर्न सकिने उपमहानगरपालिकाले अनुरोध गरेको छ ।




