अत्तरिया- कैलालीको गोदावरी नगरपालिका र नेपाल नगरपालिका संघ (MuAN) बीच नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation – CWIS) प्रवर्द्धनका लागि ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट र MuAN अध्यक्ष भिम प्रसाद ढुंगानाबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतामा गोदावरी नगरपालिकाको तर्फबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्री र WaterAid Nepal का प्रतिनिधि गोबिन्द श्रेष्ठले साक्षीको रूपमा हस्ताक्षर गरेका थिए।

उक्त समझदारी अनुसार नेपाल सरकारको नेतृत्वमा खानेपानी मन्त्रालयअन्तर्गत ढल व्यवस्थापन विभाग (MoWS/DWSSM), WaterAid Nepal (WAN) र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (UN-Habitat) को प्रविधिक साझेदारीमा CWIS परियोजना सातै प्रदेशका ११ वटा नगरपालिकामा लागू गरिनेछ। गोदावरीसँगै ललितपुर, मेचीनगर, लहान, गोरखा, घोराही लगायतका नगरपालिकाहरू परियोजनामा समावेश छन्।
समझदारीअनुसार दिसाजन्य लेदो व्यवस्थापन, समावेशी सरसफाइ सेवा सुनिश्चितता, नीतिगत ढाँचा निर्माण, तथ्यांक संकलन तथा अद्यावधिक, फोहोर पानी प्रशोधन केन्द्रको मूल्यांकन तथा व्यावसायिक योजना निर्माण लगायतका गतिविधिहरू सञ्चालन गरिनेछन्। साथै सरसफाइसम्बन्धी तालिम, अभिमुखीकरण र क्षमता विकास कार्यक्रमहरू पनि सञ्चालन गरिने बताइएको छ।
गोदावरी नगरपालिकाले आफ्नो वार्षिक योजनामा परियोजनासँग सम्बन्धित कार्यक्रम समावेश गर्नेछ भने वातावरण शाखामा परियोजनाको लागि फोकल पर्सन तोकिनेछ। परियोजनामा MuAN र WAN ले प्रविधिक तथा भौतिक सहयोग गर्नेछन, तर आर्थिक सहयोग नगरिने उल्लेख गरिएको छ।
समझदारीपश्चात नगरप्रमुख भट्टले नगरको सरसफाइ सुधारमा यो सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। अध्यक्ष ढुंगानाले गोदावरी नगरपालिकाको सहभागिता देशभर समावेशी सरसफाइ प्रवर्द्धनमा प्रेरणादायी हुने बताए।
CWIS प्रणालीले सबै वर्ग र समुदायलाई लक्षित गर्दै सुरक्षित, दिगो र समावेशी सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। यसले मानव स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक समावेशीतामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
