कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, कलुवापुरका मनिष दमाई परिवारमा क्यान्सरले बज्रपात बर्सिएको छ। उनकी ३४ वर्षीया श्रीमती इन्नरी दमाईको जेठ २८ गते क्यान्सरका कारण निधन भएपछि चार सन्तानको जीवन अधुरो बनेको छ।
इन्नरी परिवारको मेरुदण्ड थिइन्। उनीसँगै तीन छोरी र एक छोरा रहेका छन्। छोरो मानसिक रूपमा सामान्य छैन भने सानी छोरी अझै दुधे छिन्। श्रीमतीको उपचारमा ९ लाखभन्दा बढी खर्च भइसकेको र अझै ५ लाख ऋण बाँकी रहेको मनिष बताउँछन्।

“कैलालीदेखि बाँकेसम्म उपचार गराएँ, तर बचाउन सकिनँ,” मनिष भन्छन्। अहिले उनी सन्तानको हेरचाहका कारण काममा जान सक्दैनन्। बर्खाको समयमा चुँहिने झुप्रो घरमा बस्दै आएका उनीहरू एक छाक खानासमेत जुटाउन संघर्षरत छन्।
स्थानीय सुरेश नेपालीका अनुसार इन्नरीलाई बचाउन विभिन्न प्रयास गरिए पनि सफल हुन सकेन। अहिले परिवारको अवस्था अत्यन्तै नाजुक रहेकाले तत्काल राहत र सहयोगको आवश्यकता रहेको उनले बताएका छन्।
साधारण ज्याला मजदुरी गर्ने परिवारको जीवन एक रोगले तहस-नहस बनाएको छ। अब यो परिवार बाँच्नका लागि पनि समाज र राज्यको सहयोगको पर्खाइमा छ।
