

काठमाडौं । वर्षायामको सुरुवात सँगै मुलुकभर डेंगु संक्रमणको जोखिम बढेको छ। पछिल्लो ६ महिनाभित्र मुलुकका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ। मुलुकका सातैवटा प्रदेशमा कुल १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘आम जनसमुदाय सजग हुनुपर्ने खाँचो छ,’ डा. बुढाथोकी भन्छन्, ‘राजनीतिक दल, दलका भ्रातृ एवं भगिनी संगठन र युवा कार्यकर्ताहरू पनि सहरबजारमा सरसफाइ अभियानमा खटिन अपिल गर्दछौं।’ विगतका वर्षमा असोजरकात्तिक महिनामा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो। संक्रमणको ‘पिक सिजन’ आउन लागेकाले अन्य जिल्लामा पनि संक्रमण विस्तार हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
