धनगढी– सुदूरपश्चिम प्रदेशको विपद् व्यवस्थापनमा युवाको सक्रिय सहभागिता र तयारी अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव अरुण कुँवरको समन्वयमा सुरु गरिएको सात दिने तालिम सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण, कैलालीको आयोजनामा र राष्ट्रिय युवा संघ नेपालको सहकार्यमा सञ्चालन भएको हो ।




तालिमको पहिलो दिन विविध अतिथि तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । तालिमको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जित तालिम अध्यक्षको रूपमा सहभागी थिए । त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोेगन बहादुर हमाल प्रमुख अतिथि थिए। उनले युवाहरूलाई विपद् न्यूनीकरण र व्यवस्थापनमा अग्रसर भई समुदायलाई सुरक्षित बनाउने कार्यमा संलग्न हुन आह्वान गरे ।







कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव अरुण कुँवर, केन्द्रिय सदस्य दिपेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।
तालिममा सहभागी युवाहरुलाई सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, स.प्र.ना.नि. कमल प्रसाद जोशी, स.प्र.स.नि. चेतेन्द्र मल्ल, स.प्र.ह. रमेश अवस्थी, स.प्र.स.ह. कैलाश चौधरी तथा स.प्र.ज. रवि चौधरी लगायतका प्रशिक्षकहरूले विपद् व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम दिनेछन् ।
धनगढीमा सञ्चालनमा आएको उक्त तालिममा सुदूरपश्चिमका दर्जनौं सक्रिय युवा सहभागी छन् । राष्ट्रिय युवा संघ नेपालले विपद्का समयमा युवालाई अग्रपंक्तिमा ल्याउने र स्थानीय समुदायलाई सुरक्षित बनाउने उद्देश्यले यस्ता तालिमलाई प्राथमिकतामा राख्दै आएको छ ।




