धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–७ की १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।




हत्या अभियाेगमा पक्राउ परेका मृतकका देवर २० वर्षीय नविन नाथलाई प्रहरीले पत्रकार सम्मेलन आयाेजना गर्दै सार्वजनिक गरेकाे हाे । इलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो।





नाथले शुक्रबार बिहान घर अगाडिको नालामा मृत अवस्थामा फेला परेकी तुलसीको सिरानीले मुख थिची हत्या गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा नविनले आफूले हत्या गरेको स्वीकार्दै भाउजुले पटक–पटक अपमान गरेको दाबी गरेका छन्।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले १६ दिनकी सुत्केरी अवस्थाकी तुलसीसँग घटनाको बिहीबार साँझ खानाको विषयमा भनाभन भएको थियो। ‘खाना पर्याप्त नपाएको भन्दै मृतक रिसाएकी थिइन्,’ उनलेे भने ।
घरमा मृतक तुलसी, देवर नविन, देउरानी र नन्द सँगै बस्दै आएका थिए। तुलसीका श्रीमान भारतमा रोजगारी गर्दै आएका छन्। मृतकले ‘मेरो श्रीमान कमाएर सबैलाई पाल्छन्’ भनेर गुनासो गरेपछि विवाद चर्किएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार मृतकको देउरानी र नन्दसँग भने सम्बन्ध राम्रो थियो। नविन यसअघि भारतमा ज्यालादारी मजदुरी गर्थे । केही समयअघि स्वास्थ्यमा समस्या देखिएपछि उनी घर फर्किएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पत्रकार सम्मेलनमा बाेल्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनर सिंह राणाले तदारुकताका साथ घटनाको सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् ।
उनले जटिल प्रकृतिकाे घटनामा २४ घण्टा नबित्दै सूक्ष्म अनुसन्धान गर्न प्रहरी सफल भएको बताए । प्रहरीकाअनुसार मृतक नाथले आफ्नो अपमान गरेकाे महसुस गरेका नवीनले हत्यापछि कानमा लगाइएका सुनका गरगहना लुकाएको थिए । प्रहरीलाई घटनामा उनकाे संलग्नताबारे अनुसन्धान अघि बढाउन बल पुगाउने क्लु नै गहना थिए ।




