अत्तरिया- कञ्चनपुर पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी मृत अवस्थामा फेला परेका छन् । उनी दुई दिनदेखि बेपत्ता थिए ।




गिरी भारतको मुम्बईबाट बिहीबार दिउँसो ३ बजे कैलालीको डोके बजार पुगेका थिए । त्यहीँका कार्की होटलमा तीन जना साथीहरूसँग खाजा र मदिरा सेवन गरेका थिए । त्यसपछि उनी अचानक बेपत्ता भए ।







शुक्रबार बिहानदेखि खोजी जारी रहेका गिरी शनिबार बिहान धनगढी उपमहानगरपालिका–३ स्थित विशालनगरको नाला नजिकै हिलाम्मे अवस्थामा अचेत फेला परेका थिए । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पहिचान नखुलेपछि शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो । शनिबार मृतकका परिवारले शवको सनाखत गरेका छन् । अहिले पोष्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।
गिरी तीन वर्षपछि भारतबाट घर फर्कंदै थिए । उनका एक छोरा र एक छोरी छन् । घटना रहस्यमय देखिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । परिवारले मृत्युपछि उठेका प्रश्नको जवाफ खोज्न माग गरिरहेका छन् ।




