बडीकेदार धाममा मंसिर ५ गतेदेखि तीनदिने धार्मिक पर्यटन मेला आयोजना हुँदै

डोटी- डोटी जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीकेदार धाममा आगामी मंसिर ५ गतेदेखि तीनदिने धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतको उत्तर प्रदेशबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार मेलाका अवसरमा कार्तिक शुक्ल त्रयोदशीको राति विशेष धार्मिक कार्यक्रम आयोजना गरिनेछ भने चतुर्दशीका दिन बिहान बडीकेदारको पवित्र शिलामा पूजाअर्चना गरिनेछ।

Navadurga sun

मेलामा विभिन्न क्षेत्रबाट देवताका देउरा तथा भाँकीसहित श्रद्धालु भक्तजन धाम पुग्ने धार्मिक परम्परा रहेको छ। रातभर डेउडा खेल्ने, नाचगान गर्ने, भजनकीर्तन तथा पूजाआजासहितका कार्यक्रम सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए।

समुद्री सतहबाट दुई हजार ५९१ मिटरको उचाइमा अवस्थित बडीकेदार धामलाई भगवान् शिवको पवित्र तीर्थस्थलका रूपमा लिने गरिन्छ। यहाँ मूर्तिको सट्टा ठूलो पवित्र शिलालाई शिवलिङ्गका रूपमा पूजा गर्ने परम्परा छ। धाममा दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन्।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडीकेदार धामलाई प्रदेशकै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा विकास गर्नुपर्ने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको जानकारी दिए।

प्रदेशका महत्वपूर्ण धार्मिकस्थलहरूको गुरुयोजना तयार गरी आवश्यक बजेट विनियोजनमार्फत विकास निर्माणका काम अघि बढाइने पनि उनले बताए।

धनगढीबाट भीमदत्त राजमार्ग हुँदै सहजपुर, बीपीनगर र अत्तरकाँडा भएर करिब ११६ किलोमिटर सडक यात्रा गरेपछि बडीकेदार धाम पुग्न सकिन्छ। अत्तरकाँडाबाट भने करिब दुई घण्टा पैदल उकालो हिँड्नुपर्छ। धामसम्म पुग्ने बाटोमा अहिले पक्की सिँढीसमेत निर्माण गरिएको छ।

धार्मिक पर्यटनको प्रवर्द्धन, स्थानीय क्षेत्रको प्रचारप्रसार तथा भक्तजनको सहभागिता बढाउने उद्देश्यले आयोजना हुन लागेको मेलामा सहभागी हुन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन्।

ADD Khali jpg
Loading...