धनगढी- १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले ३० वटा खेलका खेलाडी छनोट गर्ने भएको छ।




प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिएको छ।





धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गर्नुभयो। डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ।


प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोर्ट्सका खेल सञ्चालन हुनेछन्।
त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन गरिनेछन्।
प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले खेलकुद मानिसलाई अनुशासित बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासमा सहकार्य गर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गराइनेछ।




