सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।




यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।





सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए भने दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रनको योगदान दिए।


बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए। त्यस्तै, स्कट कुग्लेन, फाबियन एलन र हेमन्त धामीले समान १–१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६० रन बनाए। उनले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन बनाए।
काठमाडौंका लागि जहानदाद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिए। सन्तोष यादवले ३ ओभरमा १६ रन दिँदै २ विकेट लिए। खेलको दोस्रो ओभरमै उनले सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई खाता खोल्न नदिई आउट गरेका थिए। यस जितसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफ यात्रा सुनिश्चित गरेको छ।




