धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणाधीन अवस्थामा छ । सडक विस्तार पूरा गर्नुपर्ने समयावधि २०८२ वैशाख २६ गते सकिए पनि काम सकिएको छैन । बजेट अभावले गर्दा तोकिएको समयमै काम पूरा नभएको जनाएको छ ।




२०८० असार १३ गते सुदूरपश्चिम सरकारका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले यो सडक विस्तार शिलान्यास गरेका थिए ।





प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजारको लागतमा धनगढी बजारको कैलाली पुलदेखि क्याम्पसचोकसम्म २ दशमलव २८ किलोमिटर सडक विस्तार कार्य सुरु भएको थियो । धनगढीको केएस कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको जिम्मा पाएको हो । २०८० वैशाख २७ गते सडक निर्माणको सम्झौता गरेको कम्पनीले २०८२ वैशाख २६ गतेभित्र सम्पूर्ण काम सक्नुपर्ने थियो तर बजेट अभावमा काम समयमै पूरा हुन सकेन ।
बजेट अभावमा काम पूरा हुन नसकेकाले निर्माण सम्पन्न हुने म्याद थप गर्नुपर्ने अवस्था आएको सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।


‘भौतिक संरचनाको कुरा गर्ने हो भने असार मसान्तसम्म सबै कालोपत्रेको काम पूरा हुन्छ । अहिले एक चरणको कालोपत्रेको काम पनि पूरा भएको छ । डबल कालोपत्रेको काम पनि आधा भएको छ । अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । फुटपाथ निर्माण लगायतका अन्य काम हुँदैछ,’ उनले भने ।
खत्रीका अनुसार बजेट अभाव हुँदा काम सुस्त भएको हो । ५२ करोड लागतमध्ये अहिलेसम्म सडक निर्माणमा ३३ करोड खर्च भइसकेको जानकारी दिँदै उनले बाँकी भुक्तानी दिन बजेट अभाव रहेको बताए । पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बन्दैछ । मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमी हुन नदिने प्रतिबद्धता त्यतिबेला प्रदेश सरकारले जनाए पनि अहिले अभावका कारण निर्माण सम्पन्नमा ढिलाइ भएको हो ।
‘हामीले थप बजेटका लागि भौतिक पूर्वाधार मन्त्रालय र त्यहाँबाट अर्थ मन्त्रालयमा जानकारी गराएका छौँ । त्यहाँबाट थप बजेट प्राप्त भए काम तीव्र गतिमा चल्ने छ,’ उनले भने, ‘अहिले काम सुस्त छ । समयमै भुक्तानी पाएको भए असारमै सबै काम सकिन्थ्यो तर बजेट अभाव हुँदा अब ६ महिनाजति म्याद थप गर्ने कुरा भइरहेको छ ।’
पूर्वाधार विकास कार्यालयका अनुसार कालोपत्रेको काम असारमा पूरा हुने र फुटपाथ लगायतका काम पुससम्ममा सकिने छ । प्रदेश सरकारले सडकलाई प्रदेशकै नमुना विकास योजनाका रूपमा बनाइने बताएको थियो ।
चार लेनको सडकमा दुवैतर्फ फुटपाथ, साइकल लेन र बिचमा मिडियन निर्माण गर्ने काम जारी छ । सडक बत्ती, पानी, बिजुली र ढलको निकासका लागि सडकमा युटिलिटी कोरिडोर बन्दैछ । पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बन्दैछ । मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमी हुन नदिने प्रतिबद्धता त्यतिबेला प्रदेश सरकारले जनाए पनि अहिले अभावका कारण निर्माण सम्पन्नमा ढिलाइ भएको हो ।
बजेट प्राप्त नहुँदा केही ढिला हुन पुगेको निर्माण कम्पनीका सञ्चालक सुरेन्द्र पालले जानकारी दिए । ‘हामीले तोकिएको समय अगावै निर्माण गर्ने भनेका थियौँ,’ उनले भने, ‘बजारमा कसैले पनि उधारो दिँदैन । सबै सामान किन्न नगद चाहिन्छ । सडकको माथिल्लो लेयरको कालोपत्रेका भइरहेको छ । पूर्वाधार विकास कार्यालयले बजेट मागका लागि मन्त्रालयमा फाइल पठाएको छ, त्यहाँबाट बजेट स्वीकृत भएर अहिलेसम्म आएको छैन ।’
बजेट स्वीकृत भएर आए काम गर्न सहज हुने पालले बताए । बजेट अभावका बाबजुद आफूले काम नरोकेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिकाले पनि सडक निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक समन्वय गरिरहेको जनाएको छ ।




