धनगढी- नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन यही जेठ २८ गते हुने भएको छ । महासंघले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनबारे जानकारी दिएको हो ।



महासंघका सुदूरपश्चिमका अध्यक्ष प्रकाशकुमार चन्दले अधिवेशन यही जेठ २८ गते धनगढीको रिद्दिसिद्दि पार्टी प्यालेसमा आयोजना हुन लागेको बताए ।



महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण) को प्रमुख आतिथ्यता रहने तथा नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख वक्ता रहने उनले बताए ।
अधिवेशनमा २ सय २३ जना प्रतिनिधि रहने महासंघका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज विष्णुकुमार चन्दले बताए । कार्यक्रममा करिब ७ सय जना सहभागी हुने उनले बताए ।
खेलकुद महासंघ सुदूरपश्चिमले खेल गतिविधिसँगै खेलाडी सम्मान, सरसफाइ, राहत, उद्धार लगायतका सामाजिक कार्य समेत गर्दै आएको महासंघका सुदूरपश्चिम प्रदेश सचिव प्रकाश बिकले बताए । लगत्तै महासङ्घको केन्द्रीय महाधिवेशन आयोजना हुने जनाइएको छ ।




