

अत्तरिया- “खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक संरचना, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो अधिकार” भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासंघद्वारा कैलाली जिल्लाका १३ वटै पालिकाहरूमा सञ्चालन भइरहेका प्रथम भेलाहरू अन्तर्गत गोदावरी नगरपालिकाको भेला उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।
नेपाल खेलकुद महासंघका जिल्ला संयोजक महेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा केन्द्रीय सदस्य दिपेन्द्र गिरि प्रमुख अतिथि रूपमा सहभागी थिए । साथै, सुदूरपश्चिम प्रदेश खेलकुद महासंघका अध्यक्ष प्रकाश चन्द विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य बालकृष्ण प्रसाई, नेकपा एमालेका नगर सचिव विक्रम बिष्ट लगायतका अग्रज स्थानीय नेताहरूको सक्रिय सहभागिता रहेको थियो ।

भेलाले सर्वसम्मत रूपमा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसअनुसार देवबहादुर बिक अध्यक्ष, विनोद थापा उपाध्यक्ष, उर्मिला चौधरी महिला उपाध्यक्ष, सन्तोष बिसी सचिव, कुबेर सोव र विष्णु कुँवर उपसचिव, तथा बसन्त बिक कोषाध्यक्ष पदमा चयन भएका छन् । अन्य सदस्यहरू पनि समावेश गरिँदै समावेशी प्रतिनिधित्वका आधारमा कमिटी निर्माण गरिएको हो ।
कार्यक्रममा सहभागी अतिथिहरूले नवगठित कमिटीप्रति विश्वास व्यक्त गर्दै स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन, संरचना विकास तथा प्रतिभा उजागर गर्ने कार्यमा यसको उल्लेखनीय योगदान हुने आशा व्यक्त गरे । सो अवसरमा नवगठित कमिटीका सम्पूर्ण पदाधिकारीहरूलाई औपचारिक रूपमा सपथ ग्रहण गराइएको थियो ।
स्थानीय तहमा नेतृत्व विकास, संरचना निर्माण तथा प्रतिस्पर्धात्मक खेलकुद प्रणाली स्थापनाका लागि नेपाल खेलकुद महासंघले गरेको यो पहललाई सराहनीय कदमका रूपमा हेरिएको छ ।