अत्तरियामा शिव पार्वती मन्दिरको विकासका लागि धार्मिक महामहोत्सव सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा अवस्थित ऐतिहासिक वनदेवी श्री शिव पार्वती मन्दिरको संरक्षण र सर्वाङ्गीण विकासका लागि साताव्यापी धार्मिक सप्ताहा महामहोत्सव–२०८२ सुरु गरिएको छ।

सोमबारदेखि औपचारिक रूपमा सुरु भएको उक्त महोत्सव जेठ २६ गतेसम्म सञ्चालन हुने आयोजकहरूले जानकारी दिएका छन्। कथा वाचन आचार्य पुरुषोत्तम शरण लम्सालले गरिरहेका छन् भने संकल्पकर्ता ईश्वर शरारम महाराज रहेका छन्।

Navadurga sun

कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गरेका थिए। उद्घाटन समारोहमा विद्यार्थी, स्थानीयवासी, समाजसेवी, बुद्धिजीवीसहित ठूलो संख्यामा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख भट्टले मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताएका छन्। उनले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।

नगरप्रमुख भट्टले २०७२ सालमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्थापना गर्ने क्रममा दीप प्रज्वलन गर्दै जनसहयोगमा आधारित पहल सम्झिँदै भने, “त्यो समयमा जनताले देखाएको साथ र सहयोगले आजको शिक्षा संरचना सम्भव भएको हो। अहिलेको महामहोत्सवले पनि त्यही उर्जा ल्याउनेछ।”

सोही अवसरमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले धार्मिक र सांस्कृतिक गतिविधिले समाजमा एकता, सद्भाव र समृद्धिको भावना जागृत गराउने बताइन्। उनले युवापुस्तामा संस्कार र संस्कृतिप्रति विश्वास र आस्था जगाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने उल्लेख गरिन्।

गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्टले वडा क्षेत्रमा रहेका ३२ वटा मठमन्दिरको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका सक्रिय रहेको जानकारी दिए। “धर्म, संस्कार र संस्कृति सबै समुदायका साझा सम्पत्ति हुन्,” उनले भने, “यिनको संरक्षणमा हामी निरन्तर क्रियाशील छौँ।”

कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति वसन्त रोकायाले समावेशी र समृद्धिपूर्ण विकासको आधार तय गर्दै अघि बढिरहेको स्थानीय सरकारको प्रयासको प्रशंसा गर्दै बाँकी रहेका योजनाहरू चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे।

धार्मिक सप्ताहा महामहोत्सवको उद्घाटन सत्र गंगाराम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सिद्ध बोहराले गरेका थिए । आयोजकले कार्यक्रमले धार्मिक चेतना फैलाउनुका साथै स्थानीय विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

ADD Khali jpg
Loading...