

धनगढी- कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका–४ कुलरिया खोलाको कल्भर्टबाट सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल वडायक पक्राउ परेका छन् । वडायकलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका–१ कैलाली पुल नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय मनिष कुरैनी र धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय दिपेन्द्र थापा पक्राउ परेका छन् । यी दुबै जनालाई ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिक सडकखण्डबाट लम्कीचुहा नगरपालिका–१ मोतिपुर बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ ।
किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बुधवार पक्राउ परेका यी चारै जना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।