गोदावरी वन अतिक्रमण संकट: ‘जय गोदावरी’ अभियानको सातदिने अल्टिमेटम
प्रमुख कँडेललाई ‘लेन्स वाला चस्मा’ उपहार
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अन्तर्गत महेन्द्र राजमार्गको पूर्वतर्फ रहेको सुरक्षा सामुदायिक वनको खाली जमिनमा भइरहेको अवैध भवन निर्माण विरुद्ध ‘समृद्ध गोदावरी निर्माणका लागि संकल्प अभियान (जय गोदावरी)’ ले सात दिनभित्र निर्माण कार्य रोक्न अल्टिमेटम दिएको छ ।
स्थानीयहरूका अनुसार, निजी स्वार्थमा भइरहेको अतिक्रमणले वातावरणीय असन्तुलन ल्याउने खतरा बढेको छ । अभियानका संयोजक धनबहादुर बोगटीले समयमै कार्य रोकिएन भने चरणबद्ध संघर्षको चेतावनी दिएका छन् ।

अभियानले सबडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कँडेललाई औपचारिक ध्यानाकर्षण पत्र बुझाउँदै वन कार्यालयको भूमिका माथि प्रश्न उठाएको छ । साथै, प्रतीकात्मक रूपमा ‘लेन्स वाला चस्मा’ उपहार दिँदै अतिक्रमणस्थल अवलोकन गर्न आग्रह गरिएको छ ।
कँडेलले विषयमा गम्भीरताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय बासिन्दाहरूले अन्य वन क्षेत्रहरू समेत अतिक्रमणमा परेको जनाउँदै थप कडा कदमको माग गरेका छन् । जय गोदावरी अभियानले कानुनी बाटो अवलम्बन गर्दै जनस्तरबाट दबाब सिर्जना गर्ने तयारीमा रहेको जनाएको छ ।
