

अत्तरिया- स्वास्थ्य कार्यालय कैलालीले गोदावरी नगरपालिकालाई सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान (स्क्रिनिङ) गर्नका लागि अत्याधुनिक स्क्रिनिङ मेसिन हस्तान्तरण गरेको छ । करिब ८ लाख ८९ हजार रुपैयाँ मूल्यको सो मेसिनसँगै डेङ्गु परीक्षण किटसमेत नगरलाई उपलब्ध गराइएको हो ।
स्वास्थ्य कार्यालयका प्रतिनिधिबाट औपचारिक कार्यक्रमकाबीच मेसिन गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य कार्यालय कैलालीले यस्तो संवेदनशील र दीर्घकालीन महत्वको उपकरण प्रदान गरेर हामीलाई ठूलो साथ दिएको छ । यो मेसिनबाट राना, थारु, चौधरी समुदायमा बढी देखिने रोगहरूको पहिचान र समयमै उपचार गर्न सजिलो हुने जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
यसैगरी गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले भने, हाम्रो पालिकाको वडा नं. ३, ५, ६, ८ र ९ मा राना, थारु, चौधरी समुदायको बाक्लो बसोबास रहेको छ । त्यहाँ सिकलसेल र थालासेमिया रोगको जोखिम बढी हुने भएकाले स्क्रिनिङ आवश्यक थियो । यो मेसिनले समुदायमै बसेर परीक्षण गर्ने सुविधा दिन्छ, जुन ठूलो उपलब्धि हो ।’
उनका अनुसार, अब स्थानीय तहमै परीक्षण सेवा उपलब्ध हुँदा समुदायलाई सहज हुनेछ र रोगको प्रारम्भिक अवस्था मै पहिचान गरेर उपचार थाल्न सकिनेछ ।