अत्तरिया- सुदूरपश्चिम प्रदेशमा सबै भन्दा पहिला किसान सूचीकरण कार्यक्रम लागू गर्ने स्थानीय तहका रूपमा गोदावरी नगरपालिका स्थापित भएको छ । नगरपालिकाले १५,००० घरधुरीलाई किसान परिचय पत्र (कृषक कार्ड) वितरण गर्दै कृषिमा ऐतिहासिक पहल गरेको छ ।
गोदावरी नगरपालिकाको कृषि शाखा प्रमुख नन्दी मल्लका अनुसार किसान सूचीकरण अन्तर्गत ठूला, साना, मझौला, सिमान्तकृत / भूमिहीन वर्गमा विभाजन गरी कृषक पहिचान गरिएको बताएकी छीन ।

यस पहलको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय कृषक समूह महासंघ, नेपालले गोदावरी नगरपालिकालाई कदर-पत्र प्रदान गरेको छ । कदर–पत्र सुदूरपश्चिम प्रदेश कार्यसमिति संयोजक प्रकाश थापाले नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र गोदावरी नगरपालिकाको सहकार्यमा सञ्चालित भएको हो, जसअन्तर्गत किसानहरूलाई कृषक कार्ड वितरण, बीउ–बिजन वितरण, तालिम तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
कदर पत्र ग्रहण गर्दै नगर प्रमुख बिरेन्द्र भट्टले भने, “कृषिलाई शिक्षा र स्वास्थ्यसँगै प्राथमिकतामा राख्दै, विशेषगरी भूमिहीन, साना तथा महिला किसानको जीवनस्तर सुधार गर्ने हाम्रो अभियानलाई राष्ट्रियस्तरमै कदर गरिएकोमा गर्व लागेको छ । किसानका हक–अधिकार स्थापनामा गोदावरी नगरपालिका अझ प्रतिबद्ध रहनेछ ।”
“हामी कृषिमा केवल योजना होइन, व्यवहारमै परिवर्तन चाहन्छौं । किसानका समस्या बुझ्दै, समाधान खोज्दै अघि बढ्नेछौं । यो सम्मानले हामीलाई अझ प्रेरणा दिएको भट्टले बताएका छन ।”
