

कैलालीको गोदावरी नगरपालिकाले न्यायिक प्रणाली र अधिकार सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले वडा स्तरमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको न्यायिक शाखाको आयोजनामा सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने कार्यक्रम १२ वटै वडाका मेलमिलापकर्ताहरूलाई लक्षित गरी गरिएको हो । प्रत्येक वडाबाट सहभागी मेलमिलापकर्ताहरूलाई न्यायिक अधिकार, स्थानीय विवाद समाधान प्रक्रिया, कानुनी संरचना तथा स्थानीय तहमा कानुनी कार्यान्वयनका विषयमा विस्तृत जानकारी दिइएको छ ।

कार्यक्रममा सहायक महिला विकास निरीक्षक धना जोशीले अभिमुखीकरणले मेलमिलापकर्ताहरूलाई कानुनी कार्य सम्पादन गर्न सहज बनाउने विश्वास व्यक्त गरिन् । स्थानीय तहमा साना–साना विवादको समाधान गर्ने मेलमिलापकर्ताहरूलाई स्पष्ट कानुनी ज्ञान आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूको भूमिकालाई प्रभावकारी बनाउने उनले बताइन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाका कानुन अधिकृत तपेन्द्र प्रसाद न्यौपानेले प्रशिक्षण प्रदान गरिरहेका छन् । न्यौपानेले मेलमिलाप समितिको भूमिका, अधिकार, प्रक्रिया र व्यवहारिक पक्षहरूबारे प्रशिक्षणमार्फत सहभागीहरूलाई जानकारी गराउँदै छन् । उनले मेलमिलापकर्ताले कानूनअनुसार निष्पक्ष निर्णय लिन आवश्यक रहेकोमा जोड दिए ।
यो अभिमुखीकरण कार्यक्रमबाट स्थानीय तहमा न्यायिक सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ । सहभागीहरूले पनि यस्ता तालिमले आफ्नो जिम्मेवारी बुझ्न र व्यावहारिक समस्याको समाधान गर्न मद्दत गर्ने बताएका छन् ।