

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमैया, कमलरीहरुको मुक्तिसँगै उनीहरुको व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले खेलेको भुमिकाको चर्चा गरेका छन् ।

परशुराम नगरपालिका वडा न. १२ अन्तर्गत अव्यवस्थित बसोवासिहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा उनले सभापति देउबाको चर्चा गरेका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । मुख्यमन्त्री शाहले संघ सरकारले प्रदेश सरकारलाइ अधिकार दिए तीन बर्ष भित्र भुमी सम्बन्धी समस्या समाधान गर्ने बताए ।
जग्गाधनी पुर्जा वितरण परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीको सभापतित्वमा जोगबुडा अस्पताल सभाहलमा भएको थियो । कार्यक्रममा भुमी समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा पालिकाले वडाका ६४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीर बहादुर थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी मुख्यमन्त्री शाहले परशुराम नगरपालिका डडेल्धुरामा रहेको श्री जनज्योति माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरेका थिए । विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आगामी बर्षमा बजेट विनियोजनका लागि ज्ञापन पत्र बुझाएका थिए ।