डोटीमा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू हुने

डोटी ।आगामी आर्थिक वर्ष २०८२/0८३ मा डोटी जिल्लामा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। यहाँस्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले डोटीमा संयुक्त कार्यक्रम आयोजना गरी आगामी वर्ष जिल्लामा उक्त कार्यक्रम लागू गर्ने योजना बनाइएको जानकारी दिएको हो।

प्रदेश सरकारबाट यस्तो कार्यक्रम राख्न भनिएपछि डोटीका नौ वटै पालिकामा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। केही दिनपहिला यस विषयमा जिल्लास्थित सरोकार भएकासँग छलफल गरेपछि कुन कार्यक्रम राख्ने भनी पालिकाहरूलाई पत्राचार गर्न लगाएर सोही अनुसार शनिवार निर्णय गरिएको उनले जानकारी दिए।

Navadurga sun

उनका अनुसार सानो लगानीमा धेरै कार्यक्रम समेट्दा कृषिमा सकारात्मक प्रतिफल नदेखिएकाले एउटै कार्यक्रममा बढी लगानी गर्दा प्रतिफल उल्लेख्य देखिने हुँदा यस्तो कार्यक्रम ल्याउने योजना बनाइएको हो। सोहीअनुसार कृषितर्फ दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकामा तरकारीखेती, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा फलफूलखेती, पूर्वीचौकी गाउँपालिकामा भटमास, सायल गाउँपालिकामा आलु, बोगटान फुड्सिल गाउँपालिकामा बेसार र अदुवा (मसला बाली), जोरायल गाउँपालिकामा बासमती धान र बडीकेदार गाउँपालिकामा सुन्तला जातका फलफूलखेती कार्यक्रम लागू गरिने छ।

भेटेरिनरीतर्फ दिपायल–सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा भैँसीपालन र आदर्श, सायल, बोगटान फुड्सिल, जोरायल र बडीकेदार गाउँपालिकामा बाख्रापालन कार्यक्रम लागू गरिने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए। उहाँका अनुसार उल्लिखित कार्यक्रमका लागि बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...