

अत्तरिया- केहि दिनयता तराईको गर्मी निरन्तर उकालोमा चड्दै छ । गर्मी बढेपछि अत्तरिया र धनगढीका नागरिकहरु गोदावरी नगरको हाटखोलीमा पुग्ने गरेका छन् । गर्मी छल्न चुरेका फेदमा अवस्थित हाटखोलीमा पुग्ने गरेका हुन । सार्वजनिक विदा परेकी हाटखोलीमा पिकनिक खाने तथा चिसो पानीमा डुबुल्की मार्नेहरुको भिड लाग्ने गरेको छ ।
गोदावरी नगरपालिका–४ मा पर्ने हाटखोली प्राकृतिक दृष्टिकोणले पनि रमणीय रहेको छ । धनगढी–दीपायल फास्ट ट्रयाक अन्तर्गत चुरे फेदमा रहेको हाटखोलीमा तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको हो ।
हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि बालबच्चा सहित हाटखोली आएको पुगेका धनगढी उपमहानगरपालिका–१ बसन्त टोलका कृष्ण भुषालले बताए । तराईको गर्मी छल्न हाटखोली उपयुक्त ठाउँ भएकोले हाटखोलीको प्राकृतिक सुन्दरतासँग रमाउन बालबच्चालिएर पोडी खेल्न आएको उनले बताए ।
हाटखोली आएर पौडी खेलेको फोटोहरु फेसबुकमा थुप्रै हेरेको थिए । फोटोमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो,’ उनले भने, ‘यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ ।’

हाटखोलीमा गर्मी छल्न मात्र नभएर पिकनीक वनभोज खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न, मन्दिरमा दर्शन गर्न पनि मानिसहरु पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी मानिसको भीड लाग्ने गर्छ । चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको गोदावरी नगरपालिका –३ का स्थानीय फकिरे रावतले बताए ।
पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । गर्मीको समयमा हाटखोलीमा दैनिक जसो धेरै आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ । हाटखोलीको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइको केन्द्र बन्ने गरेको छ ।
प्राचीन कालदेखि नै गोठालाहरुले पुज्ने गरेको उक्त मन्दिरमा समेत दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । उक्त मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुँदै आएको छ ।
आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि हाटखोली क्षेत्रमा पूर्वाधार विकासको कमि रहेको स्थानीयको भनाइछ । आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि पछिल्लो पटक होटेलहरु खुल्ने क्रम बढ्दै गएको स्थानीयहरुको भनाई रहेको छ ।
सो क्षेत्रमा पिकनिक स्पटको विकास गर्ने, प्राकृतिक तालको संरक्षण गर्ने, मठ–मन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रबद्र्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकोले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गरिने जनाइएको छ । हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करीब ८ किलोमिटरको दुरीमा उत्तर चुरे फेदीमा पर्छ । पहाडको कलकल गर्ने पानी हुने हुँदा चर्को गर्मी एकछिन भए पनि विर्सिने गरेका छन् ।